दुलेगौंडा । माध्यमिक शिक्षा परीक्षा (एसइइ) सकेर बसेका विद्यार्थीलाई लक्षित गर्दै दुलेगौंडामा करियर काउन्सिल कार्यक्रम हुने भएको छ । नागरिक समाज र शुक्लागण्डकीको सरोकार मञ्च संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
विद्यार्थीलाई भविष्यको लक्ष्य अनुरूपको विषय छनोटमा सहयोग पुर्याउने हेतुले करियर काउन्सिल कार्यक्रम गर्न लागिएको शुक्लागण्डकीको सरोकार मञ्चका अध्यक्ष सुरेस पौडेलले बताए । विश्वास करिब ८ लाख ४६ हजार रोजगारीका पेशा रहेको बताउदैं विद्यार्थीलाई वृहत् सोचका साथ अगाडि बढ्न कार्यक्रम प्रेरणादायी हुने बताए ।
कार्यक्रमका संयोजक शंकर पन्तका अनुसार विद्यार्थीलाई करियर काउन्सिल साथै डिजिटल साक्षरता सम्बन्धि जानकारी गराइने छ । विद्यार्थीलाई मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले करियर काउन्सिल सम्बन्धि जानकारी गराउने छन् । कार्यक्रम वैशाख १५ गते दुलेगौंडा स्थिति ह्वाइट हाउस पार्टी प्यालेसमा हुने र प्रवेश शुल्क नलाग्ने बताए ।
नागरिक समाजका अध्यक्ष उमनाथ पाठकले अभिभावकले छोराछोरीको क्षमता भन्दा माथिका विषय पढ्न बाध्य बनाउदाँ थुप्रै असफलता घटना हुने गरेको बताए । त्यसैले आफ्नो क्षमता अनुसार जीवनमा अगाडि बढ्न करियर काउन्सिल कार्यक्रम वरदान सावित हुने बताए ।













