काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछानेसहितको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दर्ता भएका छन् ।
शुक्लागण्डकीकी स्मृति अधिकारी सहित दिनेश त्रिपाठी, युवराज सफल र आयुष बडाल र आभाष रेग्मीको तर्फवाट पेस भएका ३ रिट दर्ता भएका हुन् । तीन वटै रिटको पहिलो पेसी माघ ६ गतेका लागि एकैसाथ तोकिएको छ ।
महान्यायाधिवक्ता भण्डारीले सम्पत्ति शुद्धीकरण र संगठित अपराधजस्ता मुद्दा फिर्ता लिन नमिल्ने र अभियोगपत्र संशोधन भनिए पनि मुद्दा फिर्ता नै लिने उद्देश्य भएको दाबी गर्दै उनीहरूको रिटमा रोक्न अन्तरिम आदेशको माग गरिएको छ ।
रिटमा महान्यायाधिवक्ता भण्डारीले चाहेकै भरमा कुनै एक मुद्दा यसरी संशोधन गर्दै जाने हो भने न्यायिक अराजकता हुने र स्वच्छ न्याय नै हराउने दाबी गरिएको छ भने हरेक सरकारले आफूनिकट व्यक्तिको मुद्दा यसै गरी टुंग्याउँदा न्यायिक प्रक्रिया नै संकटमा पर्ने भएकाले सर्वोच्चले हस्तक्षेप गर्नुपर्ने दाबी पनि गरिएको छ ।













