दुलेगौंडा । म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा आज एक युवा मृत फेला परेका छन् । मृत फेला पर्नेमा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका २६ वर्षीय संसार भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सडकबाट अन्दाजी ४०/५० मिटर तल रुपाकुना खोलाको खोँचमा मोटरसाइकलसहित खसेको अवस्थामा निजलाई मृत भेटिएको प्रहरी जनाएको छ । मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली ल्याइएको छ ।
बिहीबार दिउँसो भिमादमा जारी भलिबल प्रतियोगिता हेर्न जान्छु भनेर घरबाट निस्किएका भुजेल आजसम्म घर नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय बेलचौतारामा निवेदन दिएको थियो । इलाका प्रहरी कार्यालय खोजतलासका क्रममा निजलाई मृत अवस्थामा फेला पारेको जनाएको छ ।













