दुलेगौंडा । हरेक बर्ष माघ १ गते माघे सङ्क्रान्ति पर्व मनाइन्छ ।
थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले माघे सङ्क्रान्तिको रुपमा आजको दिनलाई मनाउने गर्छन् । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी अर्थात् नयाँ वर्षको रुपमा मनाउने गर्छन्।
त्यस्तै मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालका हिमाल, पहाड र तराईमा यो पर्वलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन्।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ।













