दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नम्बर ४ को तेस्रो साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा अधिकांशले वडा व्यस्थापनलाई आर्थिक रूपले सक्षम बनाउनेदेखि बजार बन्दमा समेत एकरूपता ल्याउने कुरामा जाेड दिएका छन् ।
कार्यक्रमलाई सम्बाेधन गर्दै शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रकाश थापाले बजार बन्द गर्ने कुरामा एकरूपता कायम गर्नुपर्ने बताए । व्यापारी-व्यापारी बिच नै एकले खाेल्ने र अर्काेले बन्द गर्दा बेमेल सिर्जना हुने र बजारप्रति आम उपभोक्तकाे विश्वास कम हुने बताए ।
शुक्लागण्डकी नगर उद्याेग बाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले वडा व्यवस्थापन समितिले व्यापारीकाे हितमा केन्द्रीत रहेकाे बताए । संघले व्यापारीलाई वर्तमान बजारकाे माग अनुसार अगाडि बढाउन चेतनकाे स्तर वृद्धिमा काम गरिरहेकाे बताए ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष वसन्त ज्वारचन निवर्तमान अध्यक्ष विमल रिमालले नगरले वडा व्यस्थापन समितिलाई पनि आम्दानीको हिस्सा छुट्याउनुपर्नेमा जाेड दिएका थिए ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नम्बर ४ का सभापति बालकृष्ण विकको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका काेषाध्यक्ष रिताकुमारी श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन । कार्यक्रममा स्वागत मन्तव्य उपसभापति सुविल श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव उपेन्द्रलाल श्रेष्ठले गरेका हुन् ।













