दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-९ स्याउलीबजारमा बिहिबारदेखि दुधराज मनमाया स्मृति तथा छैठाैं ल्हाेसार कप फुटबल प्रतियोगिता सुरू भएकाे छ ।

उद्घाटन खेलमा टिम आर.जिलाई टिम दुदराज मनमायाले पराजित गरेको छ । निर्धारित समयमा दुबै टिमले १-१ गाेल गरेपछि खेल पेनाल्टीमा पुगेको थियाे । पेनाल्टीमा टिम दुधराज मनमायाले टिम आर.जिलाई ३-२ गाेल अन्तरले पराजित गर्दै दाेस्राे चरणमा प्रवेश गरेको छ ।
यसैगरी दाेस्राे खेलमा नभप्रभात युवा क्लबले शिलादेवी युवा क्लबलाई पराजित गरेको छ । दुबै टिम गाेलरहित भएपछि पेनाल्टीमा नभप्रभातले शिलादेवीलाई ६-५ गाेल अन्तरले पराजित गरेको हाे ।

प्रतियोगिताकाे ओैपचारिक उद्घाटन गर्दै शुक्लागण्डकी- ९ का वडाध्यक्ष बाबुराम थापाले खेलले युवाकाे व्यक्तित्व र नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । भ्याली युवा क्लबले युवाहरूलाई एक्केबद्ध गराउनुका साथै खेल काैशलकाे विकास गराउन सहयोग पुर्याएकाे बताए ।
प्रतियोगिताकाे विजेताले नगद १ लाख साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद ५० हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
क्लबका अध्यक्ष सुवास साही ठकुरीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा मनमाया गुरूङ, इप्रका बेलचाैताराका प्रमुख धन नारायण श्रेष्ठ, वडा सदस्य बुद्धिमाया गुरूङ, पूर्व वडा सदस्य डिलबहादुर थापा, स्याउलीबजार टाेल विकास संस्थाका सचिव शिवराज गुरूङ, तालवेसी खानेपानी संस्थाका सचिव केशवराज शर्मा, समाजसेवी हिरालाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन क्लबका सचिव सुमन श्रेष्ठले गरेका थिए ।












