दुलेगौँडा । सहयात्री समाज नेपाल सिड्स जेभीले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजनाको सामाजिक सचेतना तथा जीविकोपार्जन सहयोग कार्यक्रम अन्र्तगत रहेर नगर सभाहलमा पश्चिम खण्डको प्रभावित क्षेत्रका सरोकारवालाहरुसंग उक्त अन्तरक्रिया गरिएको थियो ।
राजमार्ग विस्तारसँगै मानव बेचविखनको जोखिम बढ्न सक्ने भएकाले नागरिक स्तरमा सचेतना प्रदान गरिएको सहयात्री समाज नेपालकी कार्यक्रम निर्देशक राधिका सापकोटाले बताइन् । मानव बेचविखनको जोखिम न्यूनिकरण गर्न नागरिक समाज, विद्यालय, सञ्चार माध्यम र टोल स्तरमा नै सचेत हुनुपर्ने बताइन् ।
प्रभावित क्षेत्रका शिक्षक, पत्रकार, जनप्रतिनिधी सहित स्थानीयहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपि टेकबहादुर कार्कीले जिल्लामा मानव बेचविखनको अवस्था, यसलाई रोकथाम गर्न स्थानीयले खेल्न सक्ने भूमिका, कानुनी प्रावधान लगायतका विषयमा जानकारी प्रदान गरेका थिए । कार्यक्रममा उपस्थित स्थानीयहरुले राजमार्ग विस्तार पछिको सम्भावना र चुनौतीको विषयमा चासो ब्यक्त गरेका थिए भने सहयात्री समाज नेपालका सदस्य उमेश अधिकारीले आयोजना मार्फत आफुहरुको संस्थाले प्रभावित क्षेत्र र ब्यक्तिहरुले प्रदान गरेको तालिम लगायत जिविकोपार्जनका लागि गरेको सहयोगहरुको बारेमा जानकारी दिएका थिए ।












