दुलेगौंडा । जिल्ला प्रशासन कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँले बेलचौतारामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय स्तरमा शान्ति र शुशासन कायम गरी नागरिकको आवाजलाई संवोधन गर्न नागरिक सुनुवाई कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोलदै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले बजार क्षेत्रमा जनसङ्ख्या बढ्दो क्रममा रहेको र ग्रामीण क्षेत्र प्रहरी कार्यालयबाट टाढा हुदाँ सुरक्षाको चुनौति रहेको बताए । यसका लागि इप्रकामा थप प्रहरी बल व्यवस्थापन गर्न र साँखेमा प्रहरी पोष्टको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख रामकृष्ण अधिकारीलाई आग्रह गरे ।
कार्यक्रममा सहभागिहरुले लागूऔषध दुर्व्यसनी, ट्राफिक नियमको उल्लंघन, सवारी दुर्घटना, नदिजन्य पदार्थको अवैध ओसारप्रसार, जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, सुचना दिनेको गोपनियता लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।

जनगुनासोलाई संवोधन गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख टेकबहादुर कार्कीले ट्राफिक चिह्न, दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्दै आएको बताए । साथै प्रहरीलाई पनि स्थानीय स्तरमा शान्ति शुव्यवस्था कायक गर्न कुनै कञ्जुस्याइ नगर्न आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख रामकृष्ण अधिकारीले बाजार र ग्रामिण क्षेत्रमा प्रहरीको सहज पहुँच पु¥र्याउन आवश्यक छलफल र सहकार्य गर्ने बताए । साथै प्रहरीले अनावश्यक दुख दिने नियतले कार्य गरेको प्रमाण पेश गरेमा आवश्यक कारबाही गर्ने बताए ।
जिप्रका तनहुँका प्रमुख अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख खुमबहादुर विक राजु, वडाध्यक्ष, जनप्रतिनिधि, नागरिक समाज, विभिन्न संघ संस्थाका अगुवा, पत्रकार लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन इप्रका बेलचौताराका प्रमुख धन नारायण श्रेष्ठले गरेका थिए ।













