दुलेगौंडा । सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा कञ्चनजंगा बोर्डिङ स्कुलकी स्मृती चौधरी प्रथम भएकी छिन् । ‘सहकारी शिक्षा आजको आवश्यकता’ शीर्षकको वक्तृत्वकलामा सहभागि १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै चौधरी प्रथम भएकी हुन् । प्रथम भएसंगै चौधरीले नगद ६ हजार साथमा प्रमाण पत्र प्राप्त गरेकी छिन् ।
यसैगरी वक्तृत्वकला प्रतियोगितामा सूर्याेदय बोर्डिङ् स्कुलकी एन्जिलिना घले द्धितीय, लिटल गार्डेन बोर्डिङ स्कुलकी एकता गौतम तृतीय, खैरेनी माविका शिव श्रेष्ठ र हंशवाहिनी माविकी मानसी खनाल सान्त्वना भएका छन् । प्रतियोगितामा द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ४ हजार, २ हजार र १/१ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुले व्यक्तिले ज्ञान आर्जन गर्नु मात्रै नभई आर्जन गरेको ज्ञानलाई व्यवहारमा रुपमान्तरण गर्न उत्तम हुने बताए । साथै प्रभावकारी वाक कलाले व्यक्ति र उसको भविष्यलाई उज्वल बाटोतर्फ उन्मुख गराउने उनको भनाई छ ।
सहकारी सञ्चालक समितिका अध्यक्ष तिर्थराज गर्तैलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाकी उपाध्यक्ष विर्षना श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा सहकारीका व्यवस्थापक बाबुराम देवकोटा, कर्जा अधिकृत भक्तबहादुर विक, सञ्चालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । शहिद कृष्ण माध्यमिक विद्यालय प्राङ्गणमा भएको वक्तृत्वकला प्रतियोगितामा पर्शुराम शर्मा भण्डारी, शेरबहादुर थापा र हरि खरेल निर्णयकको रुपमा रहेका थिए भने कार्यक्रम सञ्चालन तिलबहादुर कार्कीले गरेका थिए ।













