दुलेगौंडा । डिजी लिंक नेटवर्क प्रालिले जेन–जी आन्दोलनमा आगलागी भएको शुक्लागण्डकी वडा नम्बर ९ को कार्यालयलाई एक थान कम्प्युटर सहयोग गरेको छ । वडा कार्यालयलाई सेवा सुचारु गर्नका लागि डिजी लिंकले कम्प्युटर सेट सहयोग गरेको हो ।
आइतबार डिजी लिंकका प्रबन्ध निर्देशक विवेक वाग्लेले शुक्लागण्डकी–९ का वडाध्यक्ष धनबहादुर पुलामी ‘बाबुराम’ लाई सिपीयू, मनिटर, किबोर्ड, माउससहितको १ थान कम्प्युटर हस्तानतरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व वहन गर्दै कम्प्युटर सहयोग गरेको वाग्लेको भनाइ छ । वडाबाट सेवा प्रवाह गर्ने कम्प्युटर जलेर नष्ट भएकाले सुचारु गर्नलाई कम्प्युटर दिएको उनले बताए । ‘देशभरका सरकारी संरचना प्रदर्शनकारीले जलाएर खरानी बनाएका छन् । हामी पूर्ववत् अवस्थामै फर्कनुपर्नेछ । त्यसका लागि हरेक नागरिकले सकेको सहयोग गर्नुपर्ने ठानेका छौं’, वाग्लेले भने ।
सबैको सहयोगबाट नै सहज रुपमा जनतालाई सेवा दिने प्रयासमा रहेको वडाध्यक्ष पुलामीले बताए । वडा कार्यालय जलेर ध्वस्त भएकाले नयाँ ठाउँबाट सेवा दिने तयारी भइरहेको उनको भनाइ छ ।













