दुलेगौंडा । जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचार गर्न आउने बिरामीले रिपोर्ट कार्ड बाेकेर उपचार गराउनुपर्ने स्थितिकाे अन्त्य भएको छ । विद्युतीय चिकित्सा प्रणाली (इएमआर) को सुरूवातसंगै रिपोर्ट कार्ड बाेकेर हिड्नुपर्ने स्थिति अन्त्य भएको हाे । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले इएमआर पद्धतिकाे ओैपचारीक उद्घाटन गरेका हुन् ।

इएमआर प्रणालीकाे सुरूवात संगै स्वास्थ्य सेवा लिन आउने बिरामीकाे उपचार खर्च कम हुने स्वास्थ्य मन्त्री पाैडेलले बताए । उनका अनुसार अब जिपिमा बिरामीले कागज तथा रिपोर्ट कार्डकाे सट्टामा पेन ड्राइभमा रिपोर्ट लिएर डाक्टरसंग गएर उपचार गराउन सक्ने छन् ।

ईएमआर प्रणाली मार्फत बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनको अन्त्य हुने अस्पतालका बोर्ड सदस्य त्रिलोचन लम्सालले बताए ।

जिपिकाे वाेर्ड अध्यक्ष डा. केशर ढकालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री जितप्रकाश आले, प्रदेश सभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित लगायतको उपस्थिति रहेको थियाे ।
जिपी अस्पतालमा गत जेठ १४ गते अभ्यासको रुपमा पहिलो पटक इएमआर सेवा शुरु गरिएको थियो ।विश्व स्वास्थ्य संगठन नेपाल सहयाेगमा यो प्रणाली जडानकालागि २५ लाख २६ हजार रुपैया बराबरको उपकरण सहयोग भएको छ ।













