दुलेगौंडा । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको दिन दुलेगौंडामा तीजगीत प्रतियोगिता हुने भएको छ । बुधबार शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नं.४ ले पत्रकार सम्मेल गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
तीजको मौलिकता बचाई संस्कृतिको संरक्षण गर्न तीजगीत प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक रिता कुमारी श्रेष्ठले बताइन् ।

तीजगीत प्रतियोगितामा प्रथम हुनेले २५ हजार, द्वितीय हुनेले १५ हजार, तृतीय हुनेले १० हजार, सान्त्वना हुनेले ३ हजार, उत्कृष्ट भेषभुषा तथा उत्कृष्ट नृत्य गर्नेले नगद २÷२ हजार साथमा प्रमाणपत्र प्राप्त गर्ने संघका वडा सभापति बालकृष्ण विक बताए ।
कार्यक्रमको गरिमा बढाउनका लागि यसपटक राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्भा)लाई विशेष सम्मान गरिने शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रकाश थापाले बताए । देशको गहनाको रुपमा रहेको खेलाडीलाई सम्मान गरिने हुदाँ नगर भित्र तथा बाहिरका सम्पूर्ण खेलाडी तथा खेलप्रेमीलाई उपस्थितीका लागि अनुरोध गरे ।
संघका सभापति विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी–४ का वडाध्यक्ष राजकुमार वाग्ले, संघका नगर अध्यक्ष समुन्द्रराम श्रेष्ठ लगायत महिला उद्यमी विकास समितिका अध्यक्ष मनिसा विक लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चालन संघका सचिव उपेन्द्रलाल श्रेष्ठले गरेका थिए ।














