दुलेगौंडा । मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालयकी पुनम सेन ठकुरी प्रथम भएकी छिन् । ‘साँस्कृतिक सहिष्णुतामा च्यवन धामको भूमिका’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा ठकुरीले सहभागि १३ विद्यालयका प्रतियोगिलाई पछि पार्दै प्रथम भएकी हुन् । जितसंगै ठकुरीले नगद १० हजार साथमा प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

यसैगरी प्रतियोगितामा हंंश वाहिनी माविकी मानसी खनाल द्वितीय, कञ्चनजंगा बोर्डिङ स्कुलकी एञ्जिला कुँवर त, माउण्ट अन्नपूर्ण एकेडेमीका सुदिप थापा सान्त्वना र ज्ञान बगैचा इङलिस बोर्डिङ्ग स्कुलकी प्रमिसा पौडेल सान्त्वना भएका छन् । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना दुईलाई नगद क्रमशः ७ हजार ५ सय, ५ हजार र समान ३÷३ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
धामले आयोजना गरेको श्रीमद्धभागवत सप्ताह ज्ञान महायज्ञ तथा बोलबम धार्मिक महोत्सवको अवसरमा साउन २२ गते प्रतियोगिता भएको थियो । शुक्लागण्डकीको स्थानीय पाठ्यक्रममा पनि समावेश भएको च्यवन धामको महत्व र गरिमा विद्यार्थीलाई बुझाउनका प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक हरि खरेलले बताए ।












