दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बोलबम धार्मिक महोत्सव हुने भएको छ । हरेक वर्ष श्रावण महिनामा हुने धार्मिक महोत्सव यसपटक साउनको १९ गतेदेखि २६ गतेसम्म हुन लागेको हो ।
च्यवन धामलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गराउनुका साथै संस्कृत गुरुकुल सञ्चालन गर्नका लागि धार्मिक महोत्सव आयोजना गरिएको मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामका अध्यक्ष होमनाथ लम्साल अर्जुनले जानकारी दिए । उनका अनुसार यस महोत्सवले च्यवन धामको मात्रै नभई गौं संरक्षण केन्द्रको पनि संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने छ ।

श्रावण सक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा गर्ने भएकोले यस महिनालाई धार्मिक दृष्टिकोण अनुसार शुभ महिना मानिने धार्मिक महोत्सवका मुल समारोह समितिका संयोजक ठाकुर प्रसाद शास्त्रीले बताए । उनले जीवन दर्शन, धार्मिक ज्ञान र मानसिक आनन्द ग्रहण गर्नका लागि धार्मिक महोत्सवमा सहभागि हुन अनुरोध गरे ।
धार्मिक महोत्सवमा मुख्य कथा वाचकको रुपमा चर्चिक कथावाचक पण्डित इश्वर रेग्मी रहने छन् । च्यवन धाममा शुक्लेश्वर महादेवको मन्दिर साथै १०८ धारा, १०८ शिवलिङ्ग, १०८ पिपल, बौद्ध गुम्बा लगायतका संरचना रहेको छ ।













