दुलेगौंडा । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीले ३१ औं विश्व आदिवासी दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । संघले ‘संघीयता कार्यन्वयनमा आदिवासी जनजातिको भूमिका’ शीर्षकमा शुक्लागण्डकी नगरपालिका स्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।
विद्यार्थीहरुले आदिवासीको बारेमा बुझ्न र समाज परिर्वतनमा आदिवासीको भूमिकाबारे ज्ञान हासिल गर्नका निम्ति वक्तृत्वकला प्रतियोगिता राखिएको जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीकी अध्यक्ष तुलसी कुमारी श्रेष्ठले बताईन ।
प्रतियोगितामा प्रथम हुनेले नगद ८ हजार, द्वितीय हुनेले नगद ६ हजार, तृतीय हुनेले नगद ४ हजार र सान्त्वना हुनेले नगद २ हजार साथमा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक कुलकुमार कुमालले बताए । कुमालका अनुसार प्रतियोगिता श्रावण १९ गते ह्वाइट हाउसमा हुने छ ।
अगष्ट ९ अर्थात साउन २४ गते हुने ३१ औं आदिवासी जनाजाति दिवसको दिन प्रशिक्षण कार्यक्रम, अन्तरक्रिया कार्यक्रम, झाँकी प्रदर्शन, मातृभाषमा मन्तव्य, संस्कृतिक नृत्य प्रदर्शन लगायतका कार्यक्रम हुने भएको छ ।
शनिबार परिषदले दिवसलाई सफल बनाउनका लागि नगर भित्रका विभिन्न संघ संगठनका प्रतिनिधिहरुसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरिसकेको छ । परिषदका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा परिषदका नगर सल्लाहकार संयोजक खिम कुमाल, परिषदका प्रदेश सचिव विमल जिसी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन परिषदका नगर सचिव सुमन आलेले गरेका थिए ।













