दुलेगौंडा । लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौंडा सिटीले शुक्लागण्डकी–३ मा रहेको कवासेटार खानेपानीको मुहान क्षेत्रमा वृक्षारोपण गरेको छ ।

खानेपानीको मुहान संरक्षण गर्नुका साथै वातावरणीय सन्तुलन कायम गरी जैविक विविधताको संरक्षण गर्न दुई क्लले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रम गरिएको लायन्स क्लबका अध्यक्ष सुरज कुमार श्रेष्ठले बताए । क्लबले मुहान क्षेत्रमा आमला, बेल, आँप, कटहर, अनार, सितलचिनी, गुलमोहर, हुलुवाबेद, रुद्राक्ष, लिची, जामुन लगायतका फलफुल तथा बहुउपयोगी बिरुवाहरू रोपेको बताए । लायन्स क्लबले दुई बर्ष अघि पनि त्यसै ठाउँमा रोपेका विरुवाको पनि गोडमेल गरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
कार्यक्रममा डिष्ट्रिक चिफ एमजेएफ कृष्ण प्रसाद पौडेल लगायत क्लबका सदस्य, स्थानीय बासिन्दा तथा समाजसेवी व्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन क्लबका सचिव शम्भु पौडेलले गरेका थिए ।












