दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-६ बेलबाेटे कुम्लेखाेलामाथि डबल सेल बक्स पुल निर्माण सम्पन्न भएसंगै स्थानीयहरू खुसी छन् । २०८१ असार १३ गते निर्माण सुरू भएको पुल समय अवधिभन्दा ६ महिना अगाडि नै सम्पन्न भएको हाे । निर्माण सम्पन्न भएको पुलकाे उद्घाटन प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले गरेका हुन् ।

पुलकाे उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भण्डारीले पुल निर्माण भएसंगै स्थानीयकाे जीवनयापनमा सहज हुनुका साथै तिनखाेले मन्दिरकाे प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताए । साथै उनले आफुहरू जनताको साशक नभइ सेवक रहेकाे समेत बताए ।
खैरेनीटार तिनखाेलेदेवी माेटर मार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बालकुमार वाग्लेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, शुक्लागण्डकी-६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, नेकपा एमालेका नगर सचिव तिर्थराज खनाल, कांग्रेसका नगर उपसभापति कृष्णप्रसाद रेग्मी, कन्ट्रक्सनका प्रमुख गगन केसी, तिनखाेलेदेवी मन्दिर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम श्रीराम अधिकारी लगायतले मन्तव्य राखेका थिए । यसैगरी समिति सदस्य शिव अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने उपभोक्ता समितिका सचिव रबिन्द्र पाैडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

वाेस्टर्न पपुलर कन्ट्रक्सन, गुल्मीले निर्माण गरेको पुलकाे लम्बाई १७.८० मिटर रहेकाे छ । २ कराेड ८० लाख ५९ हजार ९७९ लागतमा निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गरेको हाे ।












