दुलेगौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशाेध विरूद्ध जनताको हस्ताक्षर अभियानले न्यायलयकाे न्याय सम्पादनमा दखल नपुर्याउने दाबी गरे । शुक्रबार दुलेगौंडा चाेकमा भएको हस्ताक्षर सङ्कलन कार्यक्रमलाई सम्बाेधन गर्दै वाग्लेले हस्ताक्षर अभियान न्यायपालिकालाई काम गर्न राेक्न नभइ राजनीतिक प्रतिशाेधका विरूद्धमा भएको बताए ।

कार्यपालिकाले गर्ने अभियाेजनमा ठुलाे राजनीतिकरण भएको वाग्लेकाे भनाइ छ । `कार्यपालिकाले गर्ने अभियाेजनमा ठुलाे राजनीतिकरण भएको छ भन्ने हाम्रो पार्टीको बुझाइ छ । संसदीय छानबिन समितिले सहकारीबाट रकम झिक्ने कार्यमा रवि लामिछानेको कुनै संलग्नता छैन् भनेर बाेलिसकेकाे कुरालाई नजरअन्दाज गरेर उहाँलाई सहकारी कसुरमा नै मुद्दा चलाइएकाे छ । याे गलत छ´ उनले भने ।
उनले अपराध गर्नेहरू बाहिरीने र लामिछाने विरूद्ध मुद्दा चल्नु अघि नै अभियुक्त जसरी जेलमा राख्नु गैरकानुनी रहेको बताए । `इट्टा भट्टामा जिउँदै मान्छे जलाउनेहरू उनमुक्त हुने, रवि लामिछानेकाे मुद्दा नै चल्या छैन्, मुद्दा चल्नु भन्दा अगाडि नै अभियुक्त जसरी जेलमा राख्नुपर्ने कुनै कानुनी आधार छैन्´ उनले भने,`सबैभन्दा ठुलाे अदालत भनेको जनअदालत भएको हुदाँ जनताको अभिमतबाट नै हामीहरूलाई उर्जा प्राप्त भएको छ ।´

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तनहुँका विभिन्न ठाउँमा जनताको हस्ताक्षर सङ्कलन भइरहेको छ । रास्वपाका प्रदेश प्रवक्ता शंकर पन्तका अनुसार तनहुँ जिल्लामा ३० हजारभन्दा बढी र शुक्लागण्डकी नगरपालिकामा असार ३२ गतेसम्म ६ हजार ३ सय ३६ जनाकाे हस्ताक्षर सङ्कलन भएको छ । हस्ताक्षर अभियान निरन्तर रूपमा अगाडि बढिरहेकाे पन्तको भनाइ छ ।













