दुलेगौंडा । कृषि विकास शाखा ढाेरफिर्दीमा नायव प्राविधिक सहायक पदमा कार्यरत भरत जैसीले चाकडी गरेर जागिर गर्न नसकिने भन्दै राजिनामा दिएका छन् ।
जैसीले आफुमाथि धम्काउने, समितिकाे नाममा भुक्तानी हुने फाइलमा बिल मिलाएर खान खाेजेकाे तथ्यहिन कुरा गर्ने, मानसिक टचर दिन काम गरेकाे आराेप लगाएका छन् । उनले राजिनामा पत्रमा उल्लेख गरेका छन्, ´२०८२/०१/११ गतेका दिन महिला कर्मचारी लाई एउटा कार्यक्रममा पुर्याउन यस कार्यालयमा कार्यरत कृषि अधिकृतले मलाई दबाब दिदा मैले यो मेरो काम होइन म यस्तो काम गर्दिन भन्दा तँ लाई देखाईदिन्छु भनि धम्काई समितिको नाममा भुक्तानी हुने फाइलमा समेत मलाई विल मिलाएर खान खोजेको आरोप लगाई आम जनमानसमा नराम्रो सन्देश फैलाई मैले कमाएको इज्जतमा समेत आचं पुगेको छ ´ उनले भनेका छन् ।
जैसीले कृषि विकास शाखा ढोरफिर्दीमा काम गरेर बस्न नसक्नुकाे कारणहरूमा शाखामा कार्यरत हाकिम कृषकप्रति उत्तरदायी नहुनु, जुनियर कर्मचारीलाई दमन गर्नु, आफ्नालाई भने पछि नियम विपरित काम गर्न छुट दिनु, प्रमुख प्रशासकीयको नजिक हुनेलाई नियम बिपरित सुविधा दिनु, तथ्यहिन आरोप लगाउनु , दुनियाँको ड्राइभर बन्न दबाब दिनु र मानसिक रुपमा टर्चर दिएको बताए । उनले कसैलाई चाकडी गरेर, खुट्टा ढोगेर, चिप्ला कुरा गरेर जागिर खाइदैन भन्दै राजिनामा दिएको बताए । साथै उनले आफू सेवा गरेकाे अवधिमा गलत गरे छानबिन गरेर कारबाही गर्न सक्ने बताए ।
आठविस नगरपालिका-५ दैलेख बस्ने भरत प्रसाद जैसी शुक्लागण्डकी नगरपालिका दुलेगौडामा २०७४/०४/०१ गते देखि नायव प्राविधिक सहायक (सेवा करार) मा रही कामकाज गर्दै आएका थिए । उनले नगरपालिकामा करिब ८ बर्ष ६ महिना काम गरी बुधबार अर्थात असार ३२ गते राजिनामा दिएका थिए ।












