दुलेगौंडा । शुक्ला साहित्य सङ्गम तनहुँले आयाेजना गरेकाे शुक्लागण्डकी नगरपालिका स्तरीय आधारभूत विद्यालय तहकाे कविता प्रतियोगिता पञ्चमुनिदेव माध्यमिक विद्यालयकी युनिका खनाल प्रथम भएकी छिन् । २१२ औं भानुजयन्ती तथा २०९ औं साहित्य शृङ्खलाकाे अवसरमा भएको कविता प्रतियोगितामा खनालकाे कविताले प्रथम स्थान हासिल गरेको हाे ।
यसैगरी कविता प्रतियोगितामा ज्ञान बगैंचा बोर्डिङ स्कुलकी प्रणिता श्रेष्ठ द्वितीय र गाउँ गाउँफर्कोदय माध्यमिक विद्यालयका दिप्सन पोख्रेल तृतीय भएका छन् । प्रतियोगिताका विजेतालाई नगद सहित प्रमाणपत्र वितरण गरिएको थियाे ।
कार्यक्रममा बाेल्दै साहित्य सङ्गमकी अध्यक्ष टुकादेवी पाैडेल आचार्यले विद्यार्थीहरूमा सानै उमेरदेखि नै साहित्य, लेख र रचनाप्रति माेह बढाउन साथै साहित्य लेखन क्षमताको विका गराउन कविता प्रतियोगिता आयाेजना गरिएको बताइन् ।
शुक्ला साहित्य सङ्गम तनहुँकी अध्यक्ष आचार्यकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् छन्दकावी शिव त्रिपाठी, शुक्लागण्डकी नगरपालिका सामाजिक विकास शाखा प्रमुख युवराज पौडेल लगायतकाे उपस्थिति रहेको थियाे ।













