दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा विद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । नगरपालिकाले विभिन्न विद्यालयमा रहेका बाल क्लवमा आवद्ध विद्यार्थीहरुसँग बाल अधिकार, बालश्रम र बालबालिको अवस्थाको बारेमा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले नगर सरकार बालबालिकाको अधिकार सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताए । मेयर पण्डितले नगरमा रहेका सवै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र बाल अधिकार सम्पन्न बनाउन बाल सञ्जाल गठन गरेर प्रयास थालनी गरेको बताए ।
कार्यक्रममा उपमेयर खुमबहादुर विक राजुले बालविकास र बाल अधिकारको विषयमा राज्य र सरोकार वालाहरुको अर्थपूर्ण सहभागिता हुन जरुरी रहेको बताए । उपमेयर विकले बाल क्लवमा आवद्ध रहेका बालबालिकालाई बालश्रम मुक्त नगरपालिका बनाउने अभियानमा सहयोग गर्न आग्रह गरे ।
बाल सञ्जाल शुक्लागण्डकीको अध्यक्ष निश्चल गौतमको अध्यक्षतामा भएको कार्यक्रमममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, सामाजिका विकास समितिका सदस्य विमल जिसी लगायतले बाल अधिकारको विषयमा गम्भिर भएर लाग्नुपर्ने र सरकारले लिएको बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्यलाई पुरा गर्नुपर्ने बताए ।
अन्तक्रिया सहितका कार्यक्रममा सहभागि भएका विद्यार्थीहरुलाई बाल श्रमसँग बाल विवाह र लागुऔषध दुब्र्यसनी सम्वन्धी प्रशिक्षण समेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखाका प्रमुख युवराज पौडेलले गरेका थिए ।