दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले आफ्नै लोगो प्रयोग गर्न प्रस्तावित लोगो सार्वजनिक गरेको छ । नगर कार्यपालिकाको १४९ औं कार्यपालिकाको बैठक अनुसार प्रस्तावित लोगो सार्वजनिक गर्दै ७ दिनभित्र आवश्यक राय, सल्लाह सुझाव पेश गर्न आम नगरवासीलाई आग्रह गरेको छ ।
नगरपालिकाको लोगोको व्याख्या यस्तो रहेको छ:
`शुक्लागण्डकी नगरपालिकाको लागो शान्तिको प्रतिक चिन्ह निलो रङको भुइ भागमा रहने गरी किनाराको माथिल्लो दायाँबायाँ भागमा राष्ट्रिय फूल लालीगुरासँ २ वटा समावेश गरी माथिको विच भागमा नेपालको राष्ट्रिय झण्डा प्रयोग गरिएको छ । यस नगरपालिकाको मूल नारालाई आकाशको पृष्ठभूमिमा “पर्यटन, कृषि र पूर्वाधार, समृद्ध शुक्लागण्डकीको आधार” लेखिएको छ। शुक्लागण्डकी नगरपालिकाको उच्च क्षेत्रहरु भुजिकोट दगाम, गुर्दम, कोटडाँडा र रजस्थल लगायतका भागहरुलाई पृष्ठभूमीको माथिल्लो भागमा समावेश गरिएको छ । समथर भागलाई पनि प्राथमिकताको साथमा समावेश गराईएको छ। सूर्योदय हुदै गरेको भागलाई पनि प्रस्तुत गरि स साना डाँडाकाडालाई पनि महत्वका साथ राखिएको छ। किनाराको निलो भागको दार्यों वार्यों १२ वटा वडा झल्किने गरी धानको वाला र मकैको घोघालाई ६/६ वटा गरी राखिएको छ जसको अर्थ वडा हो भन्ने संकेत गरिएको छ भने त्यसको तल भागमा नरपालिकाको नाम “शुक्लागण्डकी नगरपालिका, तनहुँ” लेखिएको छ। प्राकृतिक बनोट अनुसार शुक्लागण्डकी नगरपालिकाको भूगोललाई पनि समावेश गरिएको छ । शुक्लागण्डकी नगरपालिकाको पहिचान झल्कने सेती गण्डकी, पृथ्वी राजमार्ग, मौरी १ जोदी उडेको, सुन्तला खेती, रुख विरुवाहरु, धान झुलेका खेतहरु पृष्ठभूमी रहेको छ भने शुक्लागण्डकी नगरपालिकाको १२ वडा सहितको नक्सा राखिएको छ साथै नक्साको तलको भागमा समानताको प्रतिक महिला पुरुषको हात मिलाएको तस्विर अंकित गरिएको छ। शुक्लागण्डकी नगरपालिका कला, संस्कार र संस्कृतीमा निकै अगाडी रहेको हुँदा नेपालको मौलिक बाजा मादल र खैजडी लाई पनि यस लोगोमा समावेश गरि निर्माण गरिएको छ ।´