दुलेगौडा । शुक्लागण्डकी नगरपालिका वडा नं ९ मा अवस्थित तालवेसी मा . वि . मा विहिबार विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । तालवेसी माध्यमिक विद्यालय बालिका शिक्षा कार्यक्रम अन्तर्गत सूर्योदय कल्वको आयोजना तथा रुम टु रिडको आर्थिक सहयोग र तालवेसी इको कल्वको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्लास्टिक प्रदुषणको अन्त्य गरौँ भन्ने आदर्श वाक्य सहित विद्यालयमा सरसफाई , वातावरण सचेतनामुलक प्रभातफेरी र विद्यालय परिशरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक ध्रुव वाग्लेले बताए । विद्यार्थी भनेका भविष्यका कर्णधार भएको र उनिहरुलाई बातावरणीय पक्षको व्यवहारिक ज्ञान दिन सकेमा मात्र पृथ्वीलाई बचाउन सकिने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मीले बताउनुभयो । विद्यालयकी इको कल्व सहजकर्ता शिक्षक पवित्रा दवाडीले पर्यावरण जोगाउन घर घरबाटै परिवारका प्रत्येक सदस्यले आफुले गर्ने व्यवहार बातावरण मैत्री गराउनुपर्नेमा जोड दिइन् । सूर्योदय कल्वका सामाजिक परिचालक सिर्जना खड्काले बालवालिकाहरुको व्यवहार प्रकृतीमैत्री बनाउन विद्यालयबाटै जोड दिनुपर्ने बताइन् । विद्यालयका शिक्षक, कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा विश्व वातावरण दिवस सम्पन्न भएको हो ।