दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बराहडाँडामा १ लाख राशिको भलिबल प्रतियोगिता हुने भएको छ । बराहडाँडा युवा क्लब र बराहडाँडा टोल विकास संस्थाको आयोजनामा २८ बजार मेला भलिबल प्रतियोगिता हुन लागेको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले बाराही प्राविको ५० औं बार्षिकोत्सवको अवसरमा पुस २६ गतेदेखि २९ गतेसम्म बराहडाँडास्थित बाराही प्राविको खेलमैदानमा उक्त प्रतियोगिता हुने जानकारी दिएको हो ।
पुरुष तर्फको भलिबल प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हाजार साथमा शिल्ड, मेडल प्राप्त गर्ने खेल संयोजक खेम गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दुई टिमले नगद १०/१० हजार रुपैयाँ प्राप्त गर्ने छ ।
यसैगरी महिलातर्फको भलिबल प्रतियोगितामा विजेताले २५ हजार र उपविजेताले १५ हजार साथमा शिल्ड र मेडल प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटरलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । पुरुषतर्फ टिम दर्ता शुल्क सात हजार रुपैयाँ तोकिएको छ भने महिलातर्फ दर्ता शुल्क लाग्ने छैन ।
बाराही प्रविको बार्षिकोत्सव हरेक बर्ष पुसको २८ गते हुने हुदाँ सोही दिनको अवसर पारेर २८ बजार मेला आयोजना गरिदै आएको बराहडाँडा युवा क्लबका अध्यक्ष शिव गुरुङले बताए । उनका अनुसार पुस २६ गतेदेखि २९ गतेसम्म हुने भलिबल प्रतियोगिता साथै साँस्कृतिक कार्यक्रमतर्फ मौलिक नृत्यसँगै स्थानीय कला संस्कृतिको प्रदर्शनी हुने छ ।