दुलेगौडा । घरमा प्रयोगविहिन भएका कपडाहरुलाई पुनः प्रयोग गर्नका लागि शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा कपडा बैंक स्थापना गरिएको छ ।
दुलेगौंडा आमा समूहले हेल्थपोष्ट चोक नजिकै रहेको दुलेगौडा आमा समुहको भवनमा उक्त बैंक स्थापना गरी सेवा सुरु गरिएको हो । जहाँ आम सर्वसाधारण नागरिकले आफूसंग धेरै भएका कपडा दिन र कपडा नहुनेहरुले निःशुल्क रुपमा आफूलाई मनपर्ने कपडा लिन पनि सक्ने छन् ।
घरमा भएको दराजमा आफूले लगाएर अब लगाउदिन भनेर थुपारेर राखेका कपडाहरु बैंकमा जम्मा गर्न सकिने आमा समूहकी अध्यक्ष मधु पौडेलले बताइन् । उक्त जम्मा गरिएका कपडा आर्थिक अवस्थाका कमजोर रहेर किनेर लाउन नसक्ने व्यक्तिसम्म पुर्याउन बैंक स्थापना गरिएको पौडेलले बताइन् ।
बैंक स्थापना गरिएको पहिलो दिनमा नै १६ जना आम सर्वसाधरण नागरिकले कपडा बैंकमार्फत सेवा लिएका छन् । सुरुवाति दिनमा आमा समूहका सदस्य र केही स्थानीय बुद्धिजीविले कपडा बैंक कपडा जम्मा पनि गरेका छन् । कपडा बैंक पुष ५ गतेसम्म हरेक दिन दिउसो ३ बजेदेखि ६ बजेसम्म खुला रहने छ । त्यस पश्चात हरेक शुक्रबार ३ बजेदेखि ६ बजेसम्म मात्रै खुला हुने छ ।