दुलेगौंडा । शुक्लागण्डकी नगर स्तरीय बाल सञ्जालले ६० औं बाल दिवसको अवसरमा आयाेजना गरेको संवादात्मक कथा वाचन तथा प्रस्तुति प्रतियोगितामा खैरेनी माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगितामा सहभागी १६ विद्यालयलाई पछाडि पार्दै उपाधि हासिल गरेको हाे ।
प्रतियोगितामा अरनिको इङलिस बाेर्डिङ्ग स्कुल द्धितीय भएको छ भने छब्दी माध्यमिक विद्यालय तृतीय भएको छ ।
प्रतियोगिता विजेता खैरेनी माविका विद्यार्थी समूहले नगद १० हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी द्धितीय हुने अरनिकोले नगद ७ हजार साथमा प्रमाणपत्र र तृतीय हुने छब्दीले नगद ५ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।
कार्यक्रम बाेल्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले बाल बालिका देशका कर्णधार रहेकाे हुदाँ अधिकार दिने बिषयमा आफुहरू पूर्ण प्रतिबद्ध भएको बताए । साथै क्षमता पहिचान गरी अगाडि बढ्न आग्रह समेत गरे ।
नगरस्तरीय बाल सञ्जालका अध्यक्ष निश्चल गाैतमकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख पण्डित सहित उप प्रमुख खुमबहादुर विक (राजु), प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे, सामाजिक विकास शाखा प्रमुख युवराज पाैडेल, वडा अध्यक्ष दीर्घबहादुर थापा, राजेन्द्र भट्टराई क्षेत्री, ईन्द्र गुरूङ लगायतको उपस्थिति रहेको थियाे ।
कथा, संवाद र नाटकलाई एकीकृत रूपमा जाेडेर प्रतियोगिताकाे आयाेजना गरिएको थियाे । प्रतियोगितामा बालबालिकाले बाल श्रम, बाल शाेषण, अन्याय लगायतका विषयमा प्रस्तुति राखेका थिए । कार्यक्रमकाे निर्णायकमा जनार्दन दाहाल, जुनु खड्का र हरि खरेल रहेका थिए ।