खैरेनीटार । विद्यार्थी तथा अभिभावकलाई शैक्षिक गतिविधिमा सक्रिय सहभागिता जनाउनका लागि शुक्लागण्डकी ७ सेराटारमा रहेको कुश्मावती माध्यमिक विद्यालयले एक दिवसिय विद्यार्थी अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।
अभिभावकहरुलाई उनिहरुको जिम्मेवारीवारे जानकारी गराई अभिभावक तथा बालबालिका विचको सम्वन्ध जोड्नका साथै आफ्ना विद्यालय जाने छोराछाेरीको शैक्षिक गतिविधिमा चासो तथा रुचि जगाउनका लागि उत्प्रेरणा कार्यक्रमको आयोजना गरीएको विद्यालयका प्रधानाध्यापक सिता कुमारी गिरिले वताईन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज गुरुङ्गको अध्यक्षतामा भएको कार्यकमा प्रमुख अतिथि वडा अध्यक्ष खड्ग सिंह थापाले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा वडा सदस्य राज बहादुर थापा, सुर्य नेपाल प्रालिका अन्जन ढुवाडीले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मी भण्डारी कार्कीले गरेकी थिईन । सुर्य नेपाल प्रालिका यस विद्यालयलाई आवश्यक भवन, बस, शिक्षक व्यवस्थापन, विद्यार्थीकोलागि आवश्यक पर्ने पोशाक, खाजा समेत उपलब्ध गराउदै आएको छ । यसै शैक्षिक बर्ष देखि कक्षा ९ सम्म सञ्चालन शुरु गरीएको यस विद्यालयमा हाल १५० भन्दा वढी विद्यार्थीले अध्ययन गर्दै आईरहेका छन् ।
कार्यक्रममा सञ्चारकर्मी तथा कुशल उत्प्रेरक सुस्मा पौडेलले शिक्षाको महत्व, अभिभावकको भूमिका र विद्यार्थीको कर्तव्य लगायत शिक्षकको महत्व र भूमिकालाई स्पष्ट पार्नुका साथै अभिभावक तथा विद्यार्थीहरुलाई विभिन्न ढङ्गले सहजिकरण गरेकी थिईन ।