खैरेनीटार । श्री नं. ३ राजदल गण खैरेनीटारले सञ्चालन गरेको मनसुनजन्य विपद प्रतिकार्य तालिममा सहभागीहरुले अभ्यास प्रदर्शन गरेका छन् ।
अभ्यास कार्यक्रमको प्रदर्शनीमा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदी, घिरिङ गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकारीसँगै वडा अध्यक्ष, नेपाल प्रहरी, स्थानीय र पत्रकार लगायतको सहभागिता रहेको थियो । जेठ ३ गतेदेखि प्रदान गरिएको तालिममा श्री नं. ३ बाहिनी अड्डा र श्री नं. ३ राजदल गण र बाहिनी हाता भित्रका युनिटका १ सय ५० जनाको सहभागिता रहेको थियो । तालिममा विभिन्न विपद्जन्य घटनाहरू आगलागी, सडक दुर्घटना, जल उत्पन्न प्रकोप, जस्ता विपद्जन्य घटनाहरूमा प्रभावकारी रुपमा खोज तथा उद्दार गर्नेबारे प्रशिक्षण दिइएको श्री नं. ३ राजदल गणका गणपति प्रमुख सेनानी रवि खड्काले जानकारी दिए । तालिम समापनसँगै गण परिसरमा मनसुन सुरुआतसँगै हुनसक्ने विपद्का घटनाहरूको प्रतिकार्य अभ्यास गरि प्रदर्शन गरिएको हो ।
अभ्यास अवलोकनपछि शुक्लागण्डकी नगरपालिका नगर प्रमुख पण्डितले विपदजन्य घट्नाबाट क्षति न्यूनिकरण गर्न पूर्व तयारी र सचेतना फैलाउनुपर्नेमा जोड दिए । भिमाद नगरपालिका प्रमुख सुवेदीले विपदमा नेपाली सेनाको सहयोग भइरहेको उल्लेख गर्दै नगर क्षेत्रका कुनै घट्ना भएमा स्थानीय तहले समन्वय गरि अघि बढ्ने बताए ।