हलेदी । शुक्लागण्डकी नगरपालिका–२ हलेदी कुनै समय एमालेको गढ मानिन्थ्यो । हरेक निर्वाचनमा यहाँका जनताले एमालेका उम्मेद्वारहरुलाई जिताएर पठाए । तर, पनि हलेदीको समस्या भने ज्यूका त्यूँ छ । यहाँका स्थानीयबासी तथा पार्टीका स्वयम कार्यकताहरु नै आफ्ना नेताले कामै नगरेको गुनासो सुनाउँछन् ।
निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका उम्मेद्वार किरण गुरुङ प्रचारप्रसारका लागि यतिबेला घरदैलो कार्यमा व्यस्त छन् । शनिबार घरदैलो कार्यक्रम गर्दै गुरुङ शुक्लागण्डकी–२ हलेदी पुगेका थिए । त्यहाँ उनले पार्टीका कार्यकता र स्थानीयबाट समर्थन भन्दा बढी गुनासो सुन्नुपर्याे ।
निर्वाचनको समयमा स्थायी कमिटी सदस्य रहेका गुरुङलाई ३/४ पटक जिताएर पठाउदाँ पनि हलेदी क्षेत्रको लागि केही गर्न नसकेको स्थानीय मानबहादुर घलेले गुनासो गरे । ‘किरण गुरुङ यहाँबाट जितेर ३/४ पटक गईसक्नु भयो । उहाँले हामीलाई के दिन सक्नु हुन्छ र यहाँ । आजसम्म केही दिएको रेकर्ड छ ?’ उनले प्रश्न गरे ।
भुपेन्द्र रिमाल पनि शुक्लागण्डकी–२ का स्थनीयवासी हुन् । उनले वि सं. २०४८ सालदेखी नेकपा एमालेमा भोट हाल्दै आएको बताउँछन् । तर अहिले भोट के मा हाल्ने भन्ने दुबिधामा रहेको स्वयम गुरुङ उपस्थित रहेको छलफलमा सुनाए । ‘मैले वि सं. २०४८ सालदेखी नेकपा एमालेमा भोट हाल्दै आएको थिए । तर अहिले ‘भोट के मा हाल्ने ?’ भन्ने दुबिधामा रहेको छु । यो किन, कस्लो बनायो भन्दा हाम्रा राजनीतिक दलका नेताले नै बनाए’ उनले भने । विगतमा आफुहरुले जिताएर पठाएका प्रतिनिधिले यस ठाउँको विकासका लागि केही गर्न नसकेको हुदाँ ‘फेरी पनि यहाँका स्थानीयलाई सुर्यमा भोट हाल्नुस भन्न सकिन्छ ?’ भन्दै प्रश्न गर्दै भने । ‘हामीले कसरी भोट माग्दीने । विगत ०४८ सालदेखी सुर्यमा भोट हाल भन्दै हिडेको थिए । हाजसम्म शिलादेवी मोटर मार्ग बन्न सकेन । अब त्यही बाटोमा गएर सुर्यमा भोट हाल भन्न सकिन्छ ?’ उनले प्रश्न गर्दै भने ।
नेकपा एमालेका सक्रिय कार्यकर्ता हुन्, टिकाराम रिमाल । आफ्ना प्रतिनिधिले केही गर्न नसकेको हुदाँ ‘नेताहरु हाम्रो ठाउँमा आउनुहुन्छ’ भनेर स्थानीयहरुलाई भेलामा उर्तान समेत पनि गाह्रो भएको बताए । ‘आफ्ना प्रतिनिधिले आफ्नो ठाउँको विकासका लागि केही गर्न नसकेको हुदाँ नेताहरु हाम्रो ठाउँमा आउनुहुन्छ भनेर स्थानीयहरुलाई भेलामा उर्तान पनि गाह्रो भईसक्यो । किन भन,े जनताहरुको काम गरेको भए पो हाम्रो नेता आउनुभयो भनेर आउथे । यहाँ त जुटाउन गाह्रो भईसक्यो जनताहरु, यो कुरा नेताहरुले बुझ्ने कि नबुझ्ने’ उनले भने ।
चुनावमा जितेर गएपछि जनताको हित हुने काम गर्न नसकेको र जितेपछि फर्केर पनि जनतामाझ जनप्रतिनिधि नआएको एमालेका कार्यकता रामचन्द्र खनालले बताए । ‘चिलले चल्ला लान्छ कि भनेर कुखुराको माउले आफ्नो पखेटाभित्र घुसाए झैं, हाम्रा नेताले हाम्रा जनतालाई घुसाउन सक्नुभएन । र एकपटक जितेर गएपछि फर्केर पनि नआउने जनताको गुनासो हो । यो कुरा चाही नेताहरुले बुझ्दिनु पर्छ’ उनले भने ।
चुनावको बेला मात्र जनताको माझ जाने र जितेपछि केही पनि नगर्ने प्रवृत्तिले जनताहरु रुष्ट छन् । त्यसैले जनप्रतिनिधि जनताप्रति बफादार रहन आवश्यक छ ।