दुलेगौंडा । आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीले आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा कञ्चनजंघा बोर्डिङ स्कुलकी स्मृति चौधरी प्रथम भएकी छिन् । “आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको महत्त्व” विषयक प्रतियोगितामा सहभागी १८ जना प्रतियोगिलाई पछि पार्दै चौधरी प्रथम भएकी हुन् ।

प्रतियोगितामा खैरेनी माध्यमिक विद्यालयकी स्मारिका घिमिरे द्वितीय र लिटल गार्डेन बोर्डिङ स्कुलकी एकता गौतम तृतीय भएका छन्। त्यसैगरी, हंश वाहिनी माध्यमिक विद्यालयका कुशल भण्डारी र गाफा माध्यमिक विद्यालयकी गंगा विकले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र समान २ हजार ५ सयका साथै मेडल तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
प्रतियोगितामा विजेतालाई परिषद्का अध्यक्ष कुलकुमार कुमाल, शुक्लागण्डकी-७ का वडाध्यक्ष खड्क सिं थापा, कार्यपालिका सदस्यद्वय खिम कुमाल र विमल भुजेल, कार्यक्रम संयोजक सुरेन्द्र तामाङले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन परिषद्की सचिव विर्षना श्रेष्ठले गरेकी थिइन् ।













