दुलेगौंडा । तनहुँको शुक्लागण्डकी–८ ढोरफिर्दीमा जेठको पहिलो साता बृहत् निशुल्क योग विज्ञान शिविर हुने भएको छ । पतञ्जलि नगर योग समिति शुक्लागण्डकी, महिला पतञ्जलि नगर योग समिति शुक्लागण्डकीको आयोजनामा जेठ १ देखि ३ गते सम्म सो शिविर हुन लागेको पतञ्जलि नगर योग समिति शुक्लागण्डकीका महामन्त्री बालकृष्ण विकले जानकारी दिए ।
पतञ्जलि नगर योग समिति वडा नं. ८ को व्यवस्थापनमा हुने शिविरमा प्रमुख प्रशिक्षकको रुपमा पुज्या साध्वी देव कृपा जी आउने छन् । शुक्लागण्डकी नगरपालिका र वडा नं. ८ को सहयोगमा हुने कार्यक्रम गाउँफर्कोदय माविको प्राङ्गणमा विहान ४ः३० देखि ६ः३० सम्म चल्ने महामन्त्री विकले बताए । उनले शिविरमा सहभागी भई लाभ लिन आग्रह गरे ।
नगरमा कुल १२ वटा योग साधना केन्द्र चलिरहेको छ । वडा नं. ८ मा बुद्धचोक योग साधन केन्द्र, लालिम, पाटन र उत्तम योग साधना केन्द्र गरि चार स्थानमा सञ्चालित छ ।