दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पालिका भित्रका स्वास्थ्यकर्मी र स्वयम सेविकाहरूलाई क्षयरोग सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।
‘क्षयरोगीलाई मर्न नदिउ, स्वास्थ्य मानिसलाई सर्न नदिउ’ भन्ने नाराका साथ अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्रका राजेन्द्र रानाभाटले जानकारी दिए । उनका अनुसार शुक्लागण्डकी नगरपालिकामा चैतको १५ गते एआई एक्सरेबाट क्षयरोग पत्ता लगाउने कार्यक्रम गरिने हुदाँ स्वास्थ्यकर्मी र स्वयम सेवीकालाई अभिमुखिकरण गराइएको हो । जहाँ ३०० जना नागरीकको क्षयरोग परीक्षण गरिने बताइएको छ ।
क्षयरोग एक प्रकारको सरुवा रोग भएको हुदाँ यसलाई फैलन नदिन अभिमुखिकरण कार्यक्रम गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबी थापाले बताए । तनहुँ जिल्लामा संक्रमितको संख्या बढ्दो क्रममा रहदाँ यस्तो समस्या शुक्लागण्डकीमा बढी नहोस भन्ने हेतुले संक्रमण बढ्नु पूर्व नै सचेत गराइएको थापाको भनाइ छ ।
अभिमुखीकरण कार्यक्रममा प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र र जिल्ला स्वास्थ्य कार्यलयले प्राविधिक सहयोग गरेको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले मन्तव्य राखेका थिए भने सिनियर अनमी लक्ष्मी सिग्देलले स्वागत मन्तव्य राखेकी थिइन् ।