दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् । भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई मूर्त रूप दिन उद्यानको निर्माण सुरू गरिएको हो ।
रम्घाको शिखरमा गोलघरमाथि भानुभक्तको विशाल प्रतिमा स्थापना, त्यसको भित्रीभागमा भानुभक्तको जीवनीको झलक, उपयुक्त स्थानमा भानुभक्तसहित नेपालका विविध भाषाका आदिकवि र प्रमुख स्रष्टाहरूका मूर्ति स्थापना गरिने छ । साथै उद्यान परिसरभित्रै रामायण मन्दिर निर्माण गरी भानुभक्तको कृतित्वलाई मूर्त रूप दिने अवधारणा पनि छ ।
उद्यानको शिलान्यास गर्दै राष्ट्रपति पौडेलले स्रष्टा मुलुकको पूँजी र पहिचान भएकाले स्रष्टाको सम्मान गरी भाषा, साहित्यको विकासमा सरकार तथा सम्बद्ध सबै पक्षले ध्यान केन्द्रित गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।













