दुलेगौंडा । महिला उद्यमी संघ नेपाल शुक्लागण्डकी कार्यसमितिले दुलेगौंडामा शुक्लागण्डकी सातु उद्योग सञ्चालनमा ल्याएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिदै सातु उद्योग सञ्चालनमा ल्याएको समितिका अध्यक्ष तुलसी शाहाले बताईन् । उनका अनुसार उद्योगमा मकै, भट्टमास, गहुँ, फापर, कोदो लगायतको पिठो तथा सातु पाइने छ ।
समितिका सदस्य सरस्वती गौतमले उद्योगलाई चाहिने कच्चा सामग्री नगरभित्रै उत्पादन हुने हुदाँ किसानको सामग्री उद्योगले नै खरिद गर्न तयार रहेको बताईन । यस उद्योगले किसानकाे उत्पादनलाई बजारसम्म जोड्ने बताईन् ।
उद्योगको औपचारीक उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरवासीलाई आग्रह गरे । साथै उनले विद्यालयको दिवा खाजामा समेत स्थानीय उत्पादित खाद्यपदार्थ ‘सातु’ को प्रयोगमा जोड दिने बताए । आफुहरुको नेतृत्वको टिम नगरमा आएपछि महलिाहरुको व्यक्तित्व, नेतृत्व र स्वरोजगार बनाउने कुरामा सधै अग्रसर भएर लागि परेको बताए ।
समितिमा सहभागि १३ जना सदस्यहरु मिलेर उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगमा काम गर्ने सदस्यले प्रति घण्टाको काम गरेबापत ज्याला प्राप्त गर्ने अध्यक्ष शाहले बताईन् । साथै उत्पादीत सामग्रीबाट प्राप्त मुनाफा आफूहरुले संस्थामा राख्ने र समय समयमा वितरण गर्ने समेत बताइन् ।













