दुलेगौंडा । झुलबहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले ‘नेपालमा ऋषिङको परिचय’ नामक पुस्तक प्रकाशन गर्न लागेका छन् । यस पुस्तक विक्रीबाट प्राप्त गरेको रकम समाजमा रहेका विपन्न नागरिकका लागि खर्च गर्ने बताएका छन् ।
पुस्तकमा ऋषिङको ऐतिहासिक, सांस्कृतिक, धार्मिक स्थलहरुको बारेमा समेटिएको आलेले बताए । पुस्तक प्रकाशित गरी विक्री हुने रकमबाट ऋषिङ गाउँपालिकाभित्र रहेका असहाय नागरिकको व्यवस्थापन गर्ने लक्ष्य राखिएको उनले बताए । उनले भने, “पालिकाका सबै वडामा रहेका असहाय ज्येष्ठ नागरिक र सहाराविहिन बालबालिकालाई साहारा दिने लक्ष्य राखेको छ । पुस्तक विक्री गरी आउने रकम कोष बनाएर वार्षिक रुपमा नै सहाराविहिनलाई आश्रयस्थलको व्यवस्था गर्नेछु ।”
पालिकाभित्र रहेका असहाय ज्येष्ठ नागरिक र सहाराविहिन बालबालिकाको तथ्याङ्क सङ्कलनका लागि गाउँपालिकासँग सहकार्य गरेको उनले जानकारी दिए । प्रतिष्ठानका अध्यक्ष आलेले प्रतिष्ठानबाट पालिकाभित्रका विपन्न ज्येष्ठ नागरिकलाई विद्युतीय चुलो, न्यानो कपडा वितरण, निःशुल्क स्वास्थ्य परीक्षण लगायतका मनकारी काम गरिरहेका छन् ।













