दुलेगौंडा । भदौ २४ गते जेन–जी आन्दोलनमा आगजनी भएको शुक्लागण्डकी नगरपालिका–२ को वडा कार्यालयबाट पुनः सेवा सञ्चालन गर्न जनताले साथ दिएका छन् । कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कुर्ची, टेबल, दराज, प्रिन्टर लगायतका सामग्री वडावासीले नै सहयोग गरेका हुन् ।

वडा कार्यालयलाई पुरानै लयमा फर्काउन वडावासीले ठुलो सहयोग गरेको वडाध्यक्ष सुमनबहादुर राना मगरले बताए । वडा कार्यालय सञ्चालनमा जनताले गरेको सहयोगले सरकार र जनताबिच सुमधुर सम्बन्ध स्थापना गर्न टेवा पुगेको बताए ।
नर्सरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १ थान प्रिन्टर, नर्सरी युवा क्लबले कार्यालय टेबल २ थान र १० थान प्लाष्टिक कुर्ची, कालिका टोलविकास संस्थाले १० थान कुर्ची र शिवटोल विकास संस्थाले १ थान स्टिल दराज र ६ थान कुर्ची सहयोग गरेको छ ।

युवा क्लब, खानेपानी संस्था र टोलविकास संस्थाका प्रतिनिधिले वडाध्यक्ष मगर सहित कार्यपालिका सदस्य रितु नेपाली, वडा सदस्य भग्वान् पुन, कमलादेवी धमला पौडेल र मानबहादुर थापालाई हस्तान्तरण गरेको हो ।













