दुलेगौंडा । साहित्यकार मोहन भुजेल ‘सिपाही’ द्वारा रचना गरिएको ‘सिपाहीको साहित्य यात्रा’ कृतिको विमोचन भएको छ । शनिबार दुलेगौंडा स्थित ह्वाइट हाउस पार्टी प्यालेसमा शुक्ला साहित्य संगम तनहुँले उक्त कृतिको विमोचन गरेको हो ।
सङ्गमकी अध्यक्ष टुकादेवी पौडेल आचार्य, साहित्यकार दुर्गा शाह ‘बाबा’, पूर्वडिआइजी कमल घर्ति जिटी, शुक्लागण्डकी नगरपालिका–११ का वडाध्यक्ष शालिकराम भट्टराई लगायतको उपस्थितीमा कृतिको विमोचन गरिएको हो ।
सिपाहीको साहित्य यात्रामा १५१ मुक्तक, ३८ कविता, १० गीत र १८ गजल गरेर २१७ रचनाहरु प्रकाशन गरिएको छ । भुजेल सशस्त्र प्रहरी बलको प्रहरी उपरीक्षक पदबाट सेवा निवृत्त भएका हुन् । उनी सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी र नेपाली सेनामासमेत कार्यरत थिए । उनले आफ्नो जागिरे जीवनमा भोगेका अनुभवलाई साथै समाजको विकृति विसङ्गति, प्रेम, स्नेह आदिमा आफ्नो कृतिमा विषयवस्तुको रुपमा प्रस्तुत गरेका छन् ।
पुस्तकमाथि समिक्षा गर्दै साहित्यकार जीवनसागरले सान्दर्भिक रचना र सिर्जनशीलता पुस्तकमा रहेको सुनाए । शुक्ला साहित्य संगमकी अध्यक्ष टुकादेवी आचार्यको अध्यक्षतामा भएको पुस्तक विमोचन कार्यक्रमको सञ्चालन सचिव जुना खड्काले गरेकी थिइन् ।













