दुलेगौंडा । तनहुँको प्रसिद्ध धार्मिक स्थलको रुपमा स्थापित मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा आज(साउन१९) देखी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बाेलबम धार्मिक महोत्सव सुरु भएको छ ।
धार्मिक महाेत्सवलाई उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले मन्दिर धार्मिक पर्यटकीय स्थलकाे रूपमा विकास भईसकेकाे बताए । मुक्तिनाथ पुग्ने यात्रु बस्ने स्थल आवश्यक परेकाे हुदाँ संघ तथा प्रदेशबाट बजेट ल्याएर थप धामकाे गरिमा बढाउने कुरामा लागि पर्ने बताए ।
धार्मिक महाेत्सवकाे मुल समारोह समिति संयाेजक ठाकुरप्रसाद शास्त्रीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख खुमबहादुर विक (राजु), वडाध्यक्ष सुमनबहादुर राना मगर, नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र लाम्गमदे लगायतको उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन शंकर पन्तले गरेका थिए ।
महोत्सवको पहिलो दिन शुक्लागण्डकी नगरपालिका गेटदेखि मन्दिरसम्म कलश यात्रा गरिएको थियो । आज साउन महिनाको तेस्रो सोमबार पनि रहेको हुदाँ मन्दिरमा भक्तजनको घुईचो लागेको थियो । महोत्सव अवधिभर चर्चित कथावाचक पण्डित इश्वर रेग्मीकाे मुखारविन्दबाट भागवत कथा वाचन गरिने छ । महोत्सव साउन १९ गते देखि २६ गतेसम्म सञ्चालन हुने अयोजकले जनाएको छ ।













