दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधिहरूले निर्वाचनमा जनताको घरदैलोमा नगरबस सञ्चालन गर्ने भनि गरेको वाचा, वाचामै सिमित बनेकाे छ । नगरले आर्थिक बर्ष २०८२/०८३ काे बजेटमा नगर यातायात गुरूयाेजना भनेर शुन्य बजेट बिनियाेजन हुदाँ नगरबस सञ्चालन हुने कुरा अन्याेलमा परेको हो ।

२०७९ काे निर्वाचनमा गठबन्धनबाट नगरप्रमुखमा कृष्णराज पण्डित र उपप्रमुखमा खुमबहादुर विक (राजु) ले साझा रूपमा घाेषणा पत्र प्रकाश गर्दै नगरबस सञ्चालन गर्ने उद्घाेष गरेका थिए ।

निर्वाचित भएकाे ३ बर्षे कार्यकाल बित्दा सम्म पनि नगर बस सञ्चालनकाे लागि कुनै कार्य हुन सकेकाे छैन् । नगरले आर्थिक बर्ष २०८०/०८२ मा नगर यातायात गुरूयाेजना शीर्षकमा २ लाख छुट्याए पनि काम हुन सकेन । आर्थिक बर्ष २०८१/०८२ मा २० लाख बजेटमा शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा हेल्थपाेष्ट तल नगर बसपार्क निर्माण गर्ने भनी कार्य भएको थियाे । तर याे कार्य पनि पूरा हुन सकेकाे छैन् ।

नगरपालिकाले यस आर्थिक बर्षमा पनि नगर यातायात गुरूयाेजना भनी शीर्षक उल्लेख गरे पनि बजेट भने शून्य उल्लेख भएको छ । यसले शुक्लागण्डकीमा नगर बस सञ्चालन हुन्छ कि हुँदैन भन्ने कुरा अन्याेलमा नै रहेकाे छ ।












